~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


नरेन्द्र मोदीको गोरखा भ्रमण


भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदी ज्यू,
        केही महिना अघि तपाईँले गर्नुभएको नेपाल भ्रमणको राप सेलाउन नपाउँदै फेरी सार्क सम्मेलनको अवसरमा हुने तपाईँको नेपाल आगमनले मलाई मात्र होइन धेरै नेपालीलाई उत्साहित बनाएको छ । अघिल्लो भ्रमणमा त तपाईँले नेपाली नेताजनता सबैलाई मोहित तुल्याईदिनुभयो । तपाईँले संसदमा गरेको १ घण्टे भाषणले नै हजारौँ जनता तपाईँका ठुला फ्यान भए । तपाईँकै भ्रमणले गर्दा वर्षौपछी सडक सफा देख्न पाउँदा कम्ता रमाएका थिएनन् काठमाडौँका जनता ।

मोदी ज्यू, 
तपाईँको भ्रमणले हाम्रो देशमा, बिशेष गरी काठमाडौँमा ठुलै तरङ्ग ल्याउँछ भन्ने कुरो त तपाईँले अघिल्लो भ्रमणमै थाहा पाउनुभएकै हो । तपाईँको भ्रमणले हाम्रो सरकार, नेता र कर्मचारीहरुलाई अलिक बढी जाँगरिलो बनाउने हुँदा पनि तपाईँको दोस्रो नेपाल भ्रमणलाई हामी नेपाली जनताहरुले धेरै नै चासोका साथ हेरिरहेका छौँ । हुन त यसपटक तपाईँसँगै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकारप्रमुख पनि नेपाल आउँदै छन् । तर पनि तपाईँको आगमनको छुट्टै प्रतिक्षा छ । तपाईँ विश्वका शक्तिशाली व्यक्तीमध्यको एक जो पर्नुभो ।


मोदी ज्यू,
तपाईँको यसपटकको भ्रमणकै कारण काठमाडौँ र मोफसलका केही स्थानमा दशकौँ देखि नभएका विकासी कामहरु रातारात हुँदैछन् । नेपाल सरकारको यो जाँगरलाई देखेर हामी जनता पनि बढो दंग परेका छौँ । काठमाडौँका सडकमा पिचमाथि पिच हुँदैछ । वर्षायाममा समेत ८ घण्टे लोडसेडिङ्ग गर्ने र  दिपावलीमा घरघरमा बत्ती नबाल्न भन्ने सरकारले यसपटक सडक समेत झिलिमिलि पार्दैछ । अझ राजधानीको महत्वपूर्ण स्थानका घर धनीहरुको त खुशीको सिमा नै छैन । सरकारले नै घर रंगाइदिएपछि कुन जनता पो खुशी हुँदैन र है ! तपाईँ स्थलमार्ग हुँदै नेपाल भित्रने भएपछि राजमार्गले पनि कोल्टे फेर्ने भै गो । जनकपुर र लुम्बिनीका जनता पनि विकासले अनपेक्षित गति लिएपछि हर्षबडाई गर्दै छन् अरे !
तस्विर : अनलाइन खबर
मोदी ज्यू,
यी सब कुरो बताईरहँदा तपाईँलाई यो पत्र लेख्नुको खास कुरो चैँ अब बताउँदै छु । तपाईँले यसपटकको भ्रमणमा जनकपुर र लुम्बिनी पनि भ्रमण गर्ने भएपछि म गोर्खे ठिटोलाई पनि एउटा अनुरोध गर्न मन लागिहाल्यो र यो पत्र लेखेको हुँ । तपाँईले यसपटकको भ्रमणमा जनकपुर र लुम्बिनीसँगै ऐतिहासीक गोरखा दरबारको पनि भ्रमण गरिदिनुप¥यो । तपाईलाई थाहा नै भै गो कि, तपाईँ वा तपार्इँजस्तै शक्तिशाली व्यक्तिको आगमन बिना नेपालको विकास कछुवा गतिमा मात्रै हिँड्छ । तपाईँ आउने खबर मात्रै आयो भने पनि बेलुका सुत्ने बेलामा केहि नदेखेका जनताले बिहान उठ्दा बिकासले ठुलै फड्को मारेको देख्न पाउँछन् ।

    तपाईँले यसपालीको भ्रमणमा गोरखा दरबार हुँदै निर्माणउन्मोख बुढीगण्डकी जलविद्युत् आयोजनास्थल (आरुघाट) सम्म जाने इज्छा जाहेर गरिदिनुभयो भने दशकौँ देखि कच्चि सडकमै हिड्न बाध्य हामी गोर्खाली पनि सरर पिच बाटोमा गुड्न पाउने थियौँ कि ! तस्विरमा हेर्नुस् त हामीले अहिले हिँड्ने सडक कस्तो छ ।
तस्विर : दरौदी दैनिक , गोरखा

 तपाईँले नै घोषणा गर्नुभएको सहुलियतपूर्ण अरबौँ ऋण पनि सरकारले निर्माणउन्मोख बुढीगण्डकी जलविद्युत् आयोजनामा खर्च गर्ने कि भनेर सोच्दै छ अरे ! तपाईँले त्यस स्थलसम्मको भ्रमण गर्नुभयो भने त त्यसमा पनि बल पुग्ने थियो । मलाई विश्वास छ तपाईँले गोरखा भ्रमणको योजना बनाउनुहुनेछ । आखिर तपाईँको गोरखा मोह त तपाईँले चुनावी प्रचारप्रसारकै बेलामा देखाउनु भएको हो नि ।

मोदी ज्यू,
  तपाईँको हिन्दु धर्मप्रतिको विश्वासकै कारण पनि तपाईसँग थप एउटा अनुरोध गर्न चाहन्छु । यसपटकको भ्रमणमा तपाईँले पशुपतिनाथको दर्शन अघि बाग्मती र बिष्णुमतिमा स्नान गर्ने इच्छा पनि जाहेर गरिदिए राजधानीबासी धन्य हुने थिए । बषौँदेखिको प्रयासमा पनि अझै सफा गर्न नसकिएको बाग्मती नदि तपाईँले स्नान गर्ने इच्छा जाहेर गर्नासाथ रातारात सफा हुनेमा हामी विश्वस्त छौँ ।
  
हवस् त मोदी ज्यू अहिलेलाई पत्र टुंग्याउन चाहन्छु । बाँकी अनुरोध तपार्इँको अर्को भ्रमणताका गर्नेनै छु । मेरा यी अनुरोधहरुलाई सहर्ष स्विकार्नुहुनेछ भन्ने विश्वास छ ।

ठुलै अपेक्षा सहित,
गोर्खे ठिटो

'आज मैले ठुलै युद्ध जितेँ'

      गत शुक्रबार साँझ महाराजगञ्ज चोकको एक क्याफेमा कफिको चुस्की लिँदै एउटा साथीलाई कुर्दै थिएँ । म बसेको टेबलको दायाँतर्फ अर्को टेबलमा दुईजना युवा समसामायिक राजनितिक विषयमा गफिदैँ थिए । उनीहरुको गफको बिचबिचमा आफ्नो तर्क पनि मिसाउँ कि झैँ त लाग्दै थियो तर आफ्नै पारामा गफिरहेका उनीहरुलाई आफ्नो तर्क सुनाउने चेष्टा गरिन । केहिबेरमा उक्त टेबलमा अर्को तेस्रो व्यक्तिको प्रवेश भयो । सायद उनीहरुकै समुहको अर्को सदस्य थियो। ऊ कुर्चीमा बस्न नपाउँदै ती दुईजनाको गफलाई छायाँमा पार्दै कराउन लाग्यो । 

भन्दै थियो - 'आज त मैले ठुलै युद्ध जितेँ यार !'
ति दुई छक्क पर्दै उसले जितेको युद्धबारे प्रश्न तेर्साउन थाले । उसको कुराले मलाई पनि कौतुहलता जागिहाल्यो ।
अघिदेखी बसिरहेका दुईमध्ये एउटाले सोध्यो- 'के जितिस् र त्यस्तो त्यही भर्चुअल वार न जितिस् होला नि !' सायद ऊ भिडियो गेमतर्फ इंगित गर्दै थियो ।
'कहाँको भर्चुअल वार हुनु, रियल युद्घ नै जितियो नि ।'उसले जवाफ फर्कायो ।
'अनि कस्तो युद्ध जितिस् त नि, फुर्ति त ठुलै छ त !'अर्कोचाहीँले प्रश्न तेर्साइहाल्यो ।
'आज त सुन्धरादेखि नै माइक्रोको सिटमा बसेर आइयो नि !'उसले स्फुर्तीसाथ भन्यो ।
उसको जवाफ सुनेर ति दुई गलल्ल हाँसे । वरपरका अरुहरु पनि मुस्काए । मैले पनि हाँसो थाम्ने आँट गरिन र केहिबेर बाहिरै देखिने गरि र धेरैबेर भित्रभित्रै हासेँ । 
                 ****
  
 (हुन पनि वास्तविकता यस्तै छ काठमाडौँको । सिट क्षमता भन्दा दोब्बर तेब्बर मान्छे माइक्रोमा  सामानको खात लगाएसरह कोचिने गरिन्छ र कोचिनु पर्ने बाध्यता पनि हुन्छ । सार्वजनिक यातायतमा सिटमा बसेर यात्रा गर्न पाउनु त ठुलै युद्ध जितेसरह हुन्छ काठमाडौँमा ।)