~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


झस्काइरहन्छ घुन्सा दुर्घटनाले

निरज बाबु भट्ट
असोज ७

             २०६३ असोज ७ गते ताप्लेजुङ जिल्लाको उत्तरी गा.वि.स. लेलेपस्थित घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटना विश्वका सम्पूर्ण संरक्षणप्रेमीको लागि एउटा हृदयविदारक घटना बन्न पुग्यो । प्रकृति संरक्षणमा आफ्नो जीवन अर्पण गरेका संरक्षणविद्हरुलाई उक्त घटनामा गुमाउनु पर्दा सारा संरक्षणप्रेमी स्तब्ध बन्न पुगे । कञ्चनजंघा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिन जाँदै गर्दा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई सहित राष्ट्रिय अन्तर्राष्ट्रिय गरि २४ जना विशिष्ट व्यक्तिहरुले उक्त दुर्घटनामा ज्यान गुमाए । उक्त दुःखद दुर्घटना भएको आज ८ वर्ष पुरा भएको छ । तर पनि संरक्षणकर्मीमाझ उक्त दुर्घटनाको घाउ ताजै छ । उक्त घटनाबाट संरक्षणको क्षेत्रमा पुगेको अतुलनीय क्षतीले अझै पनि झस्काइरहन्छ ।
                उक्त दुर्घटनामा ज्यान गुमाएका विशिष्ट व्यक्तिहरुको योगदानको स्मरण गर्दै सरकारले वि.सं २०६५ बाट असोज ७ गतेलाई ‘राष्ट्रिय संरक्षण दिवस’ को रुपमा मनाउन थालेको छ । यस दिनलाई संरक्षणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउने गरेका छन् ।
                 घुन्सामा भएको उक्त पिडादायी दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई, संरक्षणविद् तीर्थमान मास्के, भूगोलविद् डा. हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, तत्कालिन वन सचिव डा. दामोदर पराजुली, वन्यजन्तु विभागका तत्कालिन महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङमानोर्वु शेर्पा, नेपालका लागि फिनल्याण्डका कार्यवाहक राजदुत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोग युएसएडका नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत स्वदेशी तथा विदेशी संरक्षणविद्, प्रशासक तथा पत्रकार गरि २४ जनाको निधन भएको थियो ।

यो खबर यहाँ पनि - HAMRAKURA.COM

‘सेलिब्रेटी गसिप’ मा माल्भिका र प्रियंका

निरज बाबु भट्ट
असोज ६

                  सेलिब्रेटी हुनुको महत्व जती छ उती नै आफ्नो स्टारडम जोगाउन चुनौती छ सेलिब्रेटीहरुलाई । सञ्चार क्षेत्रको विकास र सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै नेपाली कलाकारहरुको पनि लोकप्रियता बढ्दै गएको छ । तर बेलाबखत मिडियामा आउने विवादास्पद घटनाहरुले उनीहरुलाई नकारात्मक चार्चाको विषय पनि बनाइदिने गरेको छ । विशेषतः नायिकाहरु विभिन्न समयमा विवादमा आइरहेका हुन्छन् । नम्रता श्रेष्ठ, निशा अधिकारी, प्रियंका कार्की आदि नायिकाहरु यस्ता विवादका उदाहरणहरु हुन् । तर यस्ता विवादास्पद घटनाहरुमा नायिका मात्र दोषी नहुने तर्क गर्छन पूर्व मिस नेपाल माल्भिका सुब्बा र नायिका प्रियंका कार्की ।

              प्रज्ञाभवनमा आयाजित नेपाल लिटेरेचर फेष्टिवलमा संचारकर्मी सवृद्धि राई प्रस्तोता रहेको ‘सेलिब्रेटी गसिप’ शीर्षक दिइएको छलफलमा सहभागि हुँदै पूर्व मिस नेपाल माल्भिका सुब्बाले भनिन् – “यस्ता प्रकरणहरुमा सम्बन्धित व्यक्तिको धारणा नलिई एकोहोरो समाचार मात्र मिडियामा आउने गरेका छन् ।” एकोहोरो समाचार मात्र प्रकाशन÷प्रशारण गर्ने मिडिया राम्रो मिडिया हुन नसक्ने तर्क गर्दै माल्भिकाले सम्बन्धित व्यक्तिको धारणा लिएर मात्र समाचार प्रकाशन/प्रशारण गर्नुपर्ने बताइन् ।
               कार्यक्रममा नायिका प्रियंका कार्कीले केही पत्रकारले अन्तर्वाताको क्रममा सोधीएका प्रश्नको जवाफलाई गलत ढंगले प्रस्तुत गरिदिँदा कलाकारहरुले अनावश्यक तनाबको सामना गर्नुपरेको गुनासो पोखिन् । मिडियाकै कारण विभिन्न समयमा आफुले समस्या भोग्नुपरेता पनि मिडियाबाट टाढा भने रहन नसकिने नायिका कार्कीको भनाई छ । नायिका कार्कीले भनिन्– “हाम्रा लागि मिडियाको भूमिका महत्वपूर्ण रहन्छ । चाहेर नचाहेरै मिडियाको सहयोग आवश्यक पर्छ , त्यसैले मिडियासँग रिस राखेर हुँदैन ।”
छलफलमा सहभागी निलु डोमा शेर्पाले चलचित्रमा नायिकालाई कमजोर भूमिकामा प्रस्तुत गरिने गरिएको तर्क गरिन् । माल्भिका सुब्बासँगै मिलेर नयाँ चलचित्र ‘हाउ फन्नी’ को निर्माण कार्यमा जुटेकी शेर्पाले आजभोली भने त्यो ट्रेण्डमा परिवर्तनको संकेत देखापरेता पनि पर्याप्त नभएको बताईन् ।

राजावादी बनाइयो – माल्भिका
              आफुलाई राजावादी भनेर लगाइएको आरोप नै अहिलेसम्म सामाजिक सञ्जालमा आफुले भोग्नुपरेको सबैभन्दा ठुलो प्रहार भएको माल्भिकाले खुलासा गरिन् । आफुले राजतन्त्र मन पर्छ भनेकै भरमा आफुलाई राजावादीको ट्याग लगाइएको माल्भिकाको तर्क छ । अझ आफुले नेवार केटासँग बिहे गरेपछि त झन् लिम्बुवान विरोधी भई भन्नेसम्मको आरोप लागेको माल्भिकाले बताइन् ।

यो खबर यहाँ पनि - HAMRAKURA.COM

B.P. Koirala - The Legend of Politics- in Pictures

B.P. Koirala - The Legend of Politics - in Pictures

Born : 8 September 1914, Vanarasi India
Died : 21 July 1982 (aged 67), Kathmandu Nepal
22nd Prime Minister of Nepal : 27 May 1959 – 15 December 1960







































































                                 Photo Source : Websites