~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


फूलसँगको बिहान


             जेठ महिनाको कुरा हो । एउटा कामको सिलसिलामा धनकुटा पुगेको थिएँ । धनकुटा जिल्लाको दक्षिण पूर्वी गा.वि.स. ६ नं. बुधबारेमा इलाका स्तरिय बैठक राख्नु पर्ने थियो । बुधबारे इलाकाका इलाका वन अधिकृत दिपनारायण यादवले जेठ २८ गते बुधबारको लागि निम्तो दिनुभयो । बुधबार बिहानै बैठक राख्नुपर्ने भएकाले अघिल्लै साँझ सुन्दर स्थल भेडेटार, राजारानी हुँदै बुधबारे पुँगे । अधिकृत यादवले इलाका वन कार्यालय रहेको एक घरको आफ्नै निवासमा बस्ने व्यवस्था मिलाइदिनुभएको थियो । बैठकको तयारी गर्नुपर्ने भएकाले त्यो साँझ घरभित्रै सिमित रहेँ । भोलीपल्ट बिहान बैठक सकेपछि बल्ल आफुले रात काटेको घरलाई राम्रोसँग नियाल्ने मौका पाएँ ।

             बाटैबाट घर बडो आकर्षक देखिन्थ्यो । घर प्रवेश गर्नलाई सानो गेट बनाइएको थियो । गेटको वरीपरी र माथि फूलहरुले घेरा हालेका थिए ।  घरलाई फूलहरुले यसरी सजाइएको थियो की गेटबाट भित्र प्रवेश गर्नै लाग्दा फूलहरुको मगमगाउँदो वास्नाले जोकोहीलाई टक्क अड्याइदिन्थ्यो र वरीपरी हेर्न बाध्य बनाउँथ्यो । आगन्तुकको नजर फूलहरुमा पर्न थालेपछि एकपटक सबै फूलहरुमा नजर नदौडाई अघि बढ्न मनै नमान्ने । घरको आँगन र बार्दली पुरै फूलहरुले ढाकेको देखेपछि मलाई त्यसको रहस्यप्रति कौतुहलता जागिहाल्यो ।

    वि.स. १९९८ सालमा दार्जीलिङ्गमा जन्मेहुर्केका पूर्णकुमार श्रेष्ठ उक्त घरका घरधनी रहेछन् । वि.सं २०१२ सालमा झापाको दमक बसाई सरेको उनको परिवार वि.सं २०२५ मा धनकुटको ६ नं. बुधबारेमा बस्न आइपुग्यो । २०३२ सालमा श्रेष्ठले बुधबारेमा घर बनाए । उनकै घरअघिल्तिर रहेको शारदा मा.वि.मा उनी शिक्षक थिए । उनले १२ वर्षसम्म उक्त विद्यालयमा अंग्रेजी र बिज्ञान विषय पढाए । राजनीतिमा खुब चाख राख्ने श्रेष्ठ पञ्चायतकालमा २०३६ देखि २०४६ सम्म गा.वि.स. अध्यक्ष बने । उनको राजनीति र समाजसेवाले उनलाई २०३८ सालमा महेन्द्र रत्न भुषण पदक दिलायो । राजा विरेन्द्रको हातबाट उनले उक्त पदक थापे । मसँग आफ्नो कहानी साट्दै गर्दा उनले फूलहरुको संकलन र रोपणमा रहेको आफ्नो मोहबारे पनि बताउन भ्याइहाले ।

फूलप्रति उनको मोह सानैदेखी रहेछ । दमक छँदा पनि उनी फूलको खुब संकलन गर्थे अरे । बुधबारेमा घर बनाएदेखि नै उनले बिभिन्न ठाउँहरुबाट धेरै प्रजातीका फूलहरु संकलन गर्न थालेका रहेछन् । उनले घरको बगैँचा र बार्दलीमा सयौँ प्रजातीका फूलहरु रोपेका छन् । “मैले यो घरवरीपरी हजारौँ प्रजातीका फूलहरु लगाएँ होला, धेरैजसो मरेर गए, अझै पनि फूल लगाउन छाडेको छैन ।” कति प्रकारका फूल लगाउनुभएको छ ? भन्ने मेरो प्रश्नमा उनको उत्तर थियो । उनले दार्जीलिङ, दमक लगायतका स्थानबाट ती फूलहरु संकलन गरको बताए । वि.सं. २०५९ सालमा आएको बाढीले उनको सबै फूल सोरेर लग्यो, झण्डै घरसमेत डुबानमा परेको । पछि फेरी उनले फूलहरु ल्याएर रोपे ।

त्यो फूलको बगैँचामा बसेर प्रत्येक फूलहरुलाई नियाल्दै उनीसँग भलाकुसारी गर्न निकै रमाइलो भइरहेको थियो । तर एउटा कामको शिलशिलामा हिँडेको मान्छे लामोसमयसम्म त्यो बगैँचामा रमाइरहने समय थिएन । त्यसैले ती सायौँ फूलहरुलाई क्यामेरामा कैद गरेर फूलका मालिक पूर्णकुमार श्रेष्ठसँगको भलाकुसारी टुंग्याउँदै त्यहाँबाट फर्कने चाजोँपाँजो मिलाउनतर्फ लागेँ ।





























No comments:

Post a Comment