~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


बाघ : केही तथ्य र तथ्याङ्क



(सन्दर्भ: विश्व बाघ संरक्षण दिवस, २९ जुलाई)

पानीमा रमाउँदै गरेको बाघ      photo © annick vanderschelde 

  • बाघ फेलिडी परिवारको प्यान्थेरा वर्ग अन्तर्गत पर्ने ‘विग क्याट्स’ समूहको सबैभन्दा ठूलो जङ्गली जनावर  हो ।
  • बाघ एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको जनावर हो । यो जनावर साइबेरीयाको चिसो वातावरणदेखि खुल्ला घाँसे मैदान र उष्ण सदाबहार भू–भागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् ।
  • बाघ  नेपाल, भारत, बंगलादेश, भुटान, चीन, थाइल्यान्ड, म्यान्मार, रूस, भियतनाम, कम्बोडिया, मलेसिया, इन्डोनेसीया तथा लाओसमा पाइन्छ । 
  •  विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा पाइने बाघ बंगाली बाघ हो भने सबैभन्दा कम सङ्ख्यामा पाइने बाघ दक्षिण चीनीयाँ बाघ हो । त्यसैगरि सबैभन्दा ठुलो आकार भएको बाघ साइबेरीयन बाघ हो ।
  •   हाल बाघले ओगटेको क्षेत्र ११,८४,९११ वर्ग किलोमिटर भन्दा पनि कम रहेको छ । 
  •   सन १९९८ यता विश्वमा बाघको ४० प्रतिशत बासस्थान विनाश भएको छ । 
  •   एक शताब्दी अघिसम्म विश्वमा एक लाखको सङ्ख्यामा बाघ थिए । अहिले विश्वमा बाघको संख्या ३२ सयको हाराहारीमा मात्र छ  ।
  • बाघका नौ प्रजाति मध्ये तिनवटा प्रजातिहरू (बाली, क्यास्पीयन र जाभा) यस संसारबाट लोप भैसके भने अहिले सम्म अस्तित्वमा रहेका ६ प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सूचीकृत भएका छन् । 
    केही समयअघि वर्दिया राष्ट्रिय निकुञ्जमा देखीएको बाघको समुह

    photo © DNPWC/Nepal


  • जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् ।
  • बंगाली बाघको औसत वजन २०० किलोग्राम र बघिनीको औसत वजन १४१ किलोग्राम हुन्छ । यसैगरि बाघको औसतलम्बाई ९.५ फिट र बघिनीको औसतलम्बाई ८ फिट हुन्छ ।
  • साईबेरियन बाघको औसत वजन ३०० किलोग्राम र बघिनीकोऔसत वजन १६७ किलोग्राम हुन्छ । यसैगरि बाघको औसत लम्बाई १०.९ फिट र बघिनीको औसत लम्बाई ८.५ फिट हुन्छ ।
  • साइबेरियन बाघको वजन ३८४ किलोग्राम सम्म पनि रेकर्ड गरिएको छ ।     
  •  बाघले एकपटकमा ३० किलो सम्म मासु खान सक्छ ।    
  • एउटा बाघलाई एक महिनामा करिब १ सय पचास किलो मासु आवश्यक पर्छ ।    
  • १०३ दिनको गर्भाधारण पछि बघीनीले सामान्यतया २–३ ओटा डमरुलाई जन्म दिन्छे । तर एकपटकमा ७ ओटा डमरुहरु सम्म पनि जन्मन सक्छन् ।
  • १६ महिना पुगेपछि मात्रै डमरुको मासु लुट्ने बंगाराको विकास हुन्छन् । यो बंगारा विकास नभएसम्म आहाराको लागि पूर्णरूपमा माउमा भर पर्ने गर्छन ।      
  •  बाघले जन्मेको एक हप्तासम्म आँखा देख्न सक्दैन ।
  • करिब ५० % डमरहरु जन्मेको २ वर्ष नपुग्दै मर्छन् ।         
  • बाघ राम्रोसँग पौडन सक्ने जनावर हो । यिनले पानी भित्रभित्रै पौडने क्षमता राख्छन् । यो जनावर ४ माइलसम्म पौडन सक्छ ।       
    काठमाडौँस्थित सदर चिडियाखानामा बाघ नियाल्दै पर्यटक photo © nb safal
  • रातमा बाघले मान्छेले भन्दा ६ गुना बढी राम्रोसँग देख्नसक्छ । 
  •  बाघ ६ मिटरभन्दा टाढासम्म र ५ मिटर माथीसम्म उफ्रन सक्छ । 
  •  बाघको गर्जन १.५ किलोमीटर परसम्म पनि सुनीन्छ ।
  • यौन समागमका बेला हुने भाले-भाले बिचको आपसी झगडाले २५%  भाले बाघ मारिन्छन् । 
  • मान्छेको ओँठाछाप नमीलेजस्तै प्रत्येक बाघको पनि एक अर्कासँग पाटा मिल्दैन । यसकै आधारमा बाघको पहिचान गरिने गरिन्छ । 
  •  प्रत्येक वर्ष जुलाई २९ तारिखका दिन विश्व बाघ संरक्षण दिवस मनाउने गरिन्छ । सन् २०१० देखी यो दिवस मनाउन थालिएको हो ।
  • नेपाल सरकारले सार्वजनकि गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या १९८ पुगेको छ । सन् २०१२ को अध्ययनअनुसार नेपालमा बाघको सङ्ख्या १७६ र सन् २००९ मा बाघको सङ्ख्या १२१ रहेको थियो ।     
  • नेपाल सरकारले सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ ।       
  • बंगाली बाघ भारत र बंगलादेशको राष्ट्रिय जनावर हो ।
  •  भाले सिंह र पोथी बाघको ठिमाहा(हाइब्रीड) लाई लाइगर भनिन्छ भने भाले बाघ र पोथी सिंहको ठिमाहालाई टाइगन भनिन्छ ।     
  • बाघको अंग विशेष गरेर महँगो औषधी र रक्सी बनाउन प्रयोग हुने गर्छ । चीन र तिब्बतमा बाघको हड्डी शक्तिवर्द्धक टनिकका लागि प्रयोग हुने गरेको छ । मानीसहरु बाघको अंग पनि धार्मिक कार्य मा प्रयोग गर्ने गर्छन् ।    
  • मानिसको रगत नुनिलो र मासु कमलो हुनाले मान्छेलाई एकपटक आक्रमण गरेपछि बाघ फेरि पल्कने सम्भावना हुन्छ । यसलाई बाघ नरभंक्षी हुनुको एउटा कारणको रुपमा मान्न सकिन्छ ।      
  • बाघबाट मान्छेमाथि भएका आक्रमणमध्ये अधिकांश पछाडिबाट हुने गरेका छन् ।       
  • बाघ संकटमा पर्नुमा बासस्थान विनाश ,चोरी सिकार र अंग प्रत्यंगको व्यापार नै प्रमुख कारण हो ।



Photo © WWF
( यो लेख साउन १५ गतेको गोल्डेन न्यूज राष्ट्रिय दैनीक मा पनि प्रकाशीत  छ ।)