.jpg)
बाटैबाट घर बडो आकर्षक देखिन्थ्यो । घर प्रवेश गर्नलाई सानो गेट बनाइएको थियो । गेटको वरीपरी र माथि फूलहरुले घेरा हालेका थिए । घरलाई फूलहरुले यसरी सजाइएको थियो की गेटबाट भित्र प्रवेश गर्नै लाग्दा फूलहरुको मगमगाउँदो वास्नाले जोकोहीलाई टक्क अड्याइदिन्थ्यो र वरीपरी हेर्न बाध्य बनाउँथ्यो । आगन्तुकको नजर फूलहरुमा पर्न थालेपछि एकपटक सबै फूलहरुमा नजर नदौडाई अघि बढ्न मनै नमान्ने । घरको आँगन र बार्दली पुरै फूलहरुले ढाकेको देखेपछि मलाई त्यसको रहस्यप्रति कौतुहलता जागिहाल्यो ।
.jpg)
वि.स. १९९८ सालमा दार्जीलिङ्गमा जन्मेहुर्केका पूर्णकुमार श्रेष्ठ उक्त घरका घरधनी रहेछन् । वि.सं २०१२ सालमा झापाको दमक बसाई सरेको उनको परिवार वि.सं २०२५ मा धनकुटको ६ नं. बुधबारेमा बस्न आइपुग्यो । २०३२ सालमा श्रेष्ठले बुधबारेमा घर बनाए । उनकै घरअघिल्तिर रहेको शारदा मा.वि.मा उनी शिक्षक थिए । उनले १२ वर्षसम्म उक्त विद्यालयमा अंग्रेजी र बिज्ञान विषय पढाए । राजनीतिमा खुब चाख राख्ने श्रेष्ठ पञ्चायतकालमा २०३६ देखि २०४६ सम्म गा.वि.स. अध्यक्ष बने । उनको राजनीति र समाजसेवाले उनलाई २०३८ सालमा महेन्द्र रत्न भुषण पदक दिलायो । राजा विरेन्द्रको हातबाट उनले उक्त पदक थापे । मसँग आफ्नो कहानी साट्दै गर्दा उनले फूलहरुको संकलन र रोपणमा रहेको आफ्नो मोहबारे पनि बताउन भ्याइहाले ।
.jpg)
फूलप्रति उनको मोह सानैदेखी रहेछ । दमक छँदा पनि उनी फूलको खुब संकलन गर्थे अरे । बुधबारेमा घर बनाएदेखि नै उनले बिभिन्न ठाउँहरुबाट धेरै प्रजातीका फूलहरु संकलन गर्न थालेका रहेछन् । उनले घरको बगैँचा र बार्दलीमा सयौँ प्रजातीका फूलहरु रोपेका छन् । “मैले यो घरवरीपरी हजारौँ प्रजातीका फूलहरु लगाएँ होला, धेरैजसो मरेर गए, अझै पनि फूल लगाउन छाडेको छैन ।” कति प्रकारका फूल लगाउनुभएको छ ? भन्ने मेरो प्रश्नमा उनको उत्तर थियो । उनले दार्जीलिङ, दमक लगायतका स्थानबाट ती फूलहरु संकलन गरको बताए । वि.सं. २०५९ सालमा आएको बाढीले उनको सबै फूल सोरेर लग्यो, झण्डै घरसमेत डुबानमा परेको । पछि फेरी उनले फूलहरु ल्याएर रोपे ।
त्यो फूलको बगैँचामा बसेर प्रत्येक फूलहरुलाई नियाल्दै उनीसँग भलाकुसारी गर्न निकै रमाइलो भइरहेको थियो । तर एउटा कामको शिलशिलामा हिँडेको मान्छे लामोसमयसम्म त्यो बगैँचामा रमाइरहने समय थिएन । त्यसैले ती सायौँ फूलहरुलाई क्यामेरामा कैद गरेर फूलका मालिक पूर्णकुमार श्रेष्ठसँगको भलाकुसारी टुंग्याउँदै त्यहाँबाट फर्कने चाजोँपाँजो मिलाउनतर्फ लागेँ ।
.jpg)