~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


"स्कुटरवाली"

चोकमा एउटी युवती सधैँ कसैलाई कुरीहरेकी हुन्थी । पर्खाइकै बिच ऊ आफ्नो रातो स्कुटरको ऐनामा अनुहारको चेकजाँच पनि गराउँथी । एकछिनमा अर्की युवती आएर त्यो स्कुटरमा बसेपछि स्कुटर हुँईकिन्थ्यो ।
अफिस जानको लागि चोकमा गाडी कुरेर बस्ने अभयले त्यो दृष्य प्रत्येक बिहानीजसो देखीरहन्थ्यो । कतिपटक त स्कुटरवालीसँग अभयको नजर पनि जुध्थ्यो । तर बोलचाल भएको थिएन । कहिलेकाहीँ मुस्कानको दोहोरी भने चल्थ्यो । त्यो क्रम महिनौँसम्म चलिरह्यो ।
तस्बिर : गूगल

केही महिनापछि अभयले त्यो दृष्य देख्न छोड्यो । उसले वरिपरि नजर नडुलाएको पनि होइन, तर हप्ता दिनसम्म पनि उसले उनीहरुलाई कतै देखेन । अभयले ठान्यो स्कुटरवाली कतै बाहिर गएकी होली वा बिदामा होली !

अभय सधैँझैँ चोकमा गाडी कुरेर बसिरहेको थियो । अचानक कसैले स्कुटरको हर्न बजायो । उसले स्कुटरवालीलाई देख्यो । स्कुटरवाली मुस्काई । अभयले वरपर हेर्यो तर कसैलाई देखेन ।
“तपाईँलाई नै बोला’को हो ।”, स्कुटरवाली बोली । “कहाँ पुग्ने हो आउनुस् बस्नुस्, म पुलचोकसम्म हो ।”
अभय दंग पर्दै बोल्यो –“ए हुन्छ नि ! म कुपण्डोल हो ।”
“ए !”
“अनि तपाईँसँगै जाने अर्की साथी खै त आज ?”
“ए कविता ?, ऊ मसँग जाँदिन अब, उसको बिहे भयो । अर्कै ठाउँमा बस्छे ।”
स्कुटर हुँईकियो ।
“ए कविता हो उहाँको नाम, अनि तपाँईको नि ?”
“मेघा, तपाँईको ?”
“म अभय ।”
स्कुटर कुपण्डोल गएर रोकियो ।
“अब घरबाट अफिस आउँदा गाडी नकुर्नुस्, सँगै आउँला ।” मेघाले मुस्कानसहितको अफर गरि ।
अभयले तत्कालै स्विकृति जनायो – “हुन्छ नि, धन्यवाद त्यसको लागि !”

अभय मेघाको स्कुटरमा अफिस जान थालेको पनि धेरै समय बितिसकेको थियो । यो अन्तरालमा उनीहरुबिच राम्रै चिनाजानी भैसकेको थियो । राम्रै दोस्ती पनि गाँसीयो । कहिलेकाँही बिदाको दिनमा समेत उनीहरु सँगै बजार निस्कन्थे ।
तर करिब ५ महिना पछि अजय फेरी चोकमा गाडी कुरेरै बस्न थालेको छ । मेघाले पनि चोकमा स्कुटर रोकेर बस्न छाडेकी छे । कारण स्कुटरवाली मेघाको पनि बिहे भयो ।  

प्रियसीलाई भ्यालेन्टाइन पत्र


प्यारी,
अपार माया र न्यानो स्नेह !
मध्यरातमा मोबाइलले घण्टी बजायो । झसंग ब्युझिँए र मोबाइल हेरेँ । तिम्रो प्रेम सन्देश रहेछ । त्यती अबेरसम्म नसुतीकन १४ फेब्रुअरीको सुरुवाती मिनेटमै तिमीले गरेको प्रेमबर्षाले म निथ्रुक्कै भएँ । बिहान उठेपछि चियाको चुस्कीमा तिम्रो माया मिसाएर पिएँ । अरु दिनको चियामा भन्दा स्वाद बिल्कुलै फरक थियो, तिम्रो माया थपीएकाले ।

प्यारी, यो भ्यालेन्टाइन डे हाम्रो लागि विशेष भैकन पनि त्यति विशेष हुन सकिरहेको छैन । कारण यो हाम्रो पहिलो भ्यालेन्टाइन डे हो, तर यो महत्वपूर्ण दिनमा हामी सँगै हुन नपाउँदा निकै खल्लो भैरहेको छ । तिमी कामविशेषले काठमाडौँ बाहिर हुनुपर्दा हामीले यो विशेष दिन सँगै मनाउन पाएनौँ । मैले यो पल तिमिलाई निकै मिस गरिरहेको छु । लाग्छ तिमिले पनि मलाई याद गरिरहेकी हुनुपर्छ ।

भूकम्पले जुराइदिएको हाम्रो भेट यसरी प्रेममा परिणत होला भन्ने सायदै सोचिएको थियो होला । भूकम्पपछिको सामाजिक अभियानका क्रममा भएको निरन्तरको भेटघाटले हामिबिच सामिप्यता बढायो । त्यसपछिको नाकाबन्दीले हाम्रो सम्बन्धलाई झन् प्रगाढ बनाउँदै प्रेममा रुपान्तरण गरिदियो । समय र मौसम दुबैले साथ दिँदा यो छोटो समयमा नै हाम्रो प्रेमले निकै राम्रोसँग मौलाउने मौका पायो । भूकम्प र नाकाबन्दी बिचका सामाजिक अभियानका क्रममा हामिबिच हुने वार्तालाप, पुस÷माघ को चिसो साँझमा तातो कफिको चुस्किसँगै तिमिसँग बिताएका प्रेमील पलहरु सबै आज मस्तिष्कमा पुनर्जाग्रीत भैरहेको छ । मेरो धड्कन तिम्रो यादमा धड्कीरहेको छ । कहिलेकाहिँ त तिम्रा यादहरुले मुटु यस्तरी हल्लाउँछ कि, बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनहरुले बारपाक के हल्लियो होला र ! 

प्यारी, 
यतिखेर मेरा नयनहरु तिमीलाई खोजीरहेका छन् । तिमी काठमाडौँ फिरेसँगै तिमी र मैले फेरी प्रेमिल पल बिताउनु छ । मैले हाम्रो लागि केही सपनाहरु सजाएको छु । हाम्रो बिहेपश्चात काठमाडौँको व्यस्त बस्तीबाट अलि टाढा रमाइलो वातावरणमा हाम्रो घर बनाउनु पर्छ । काठमाडौँमा लभ पार्क बनाउने केशव स्थापितको सपनाले मूर्त रुप पाउन सकेन । यदि त्यो सपना पूरा हुन पाएको भए तिमी र म जस्ता थुप्रै प्रेमजोडी खुशी हुने थिए होलान् । तर पनि मैले योजना बनाईसकेको छु की हाम्रो घरको कौशीमा गुलाब बगैँचा बनाउनु पर्छ, जहाँ तिमी र मैले घण्टौँसम्म प्रेमील पलहरु बिताउन सकुँ । 
तिम्रा लागि अरुपनि थुप्रै खुशीका खबरहरु छन् । हामीले घर बनाइसके पछि तिमीलाई घर व्यवस्थापनको टाउको दुखाई हुनेछैन । मलाई पनि केही राहत अवश्य हुनेछ । ग्याँसको सिलिण्डर कुरेर रातभरी डिपोबाहिर लाइनमा बस्नुपर्ने अवस्था रहने छैन, घरमा ग्यासको पाइपलाइन जोडौँला, जसले हामीलाई निकै सजिलो बनाउने छ । मेलम्चीको पानी घरका धाराहरुबाट जुनसुकै बेला बगिरहनेछन् । घरमा सरकारले अनुदानमा दिने सोलार प्यानल राखौँला जसले जाडो महिनामा पनि तातो पानीले नुहाउने सुविधा हुनेछ । 
कहिलेकाहीँ तिमी भन्ने गर्छौ नि, राइसकुकरमा भात पकाउँदा पकाउँदै लाइट गएर भात काचै भो । हाम्रो घर बनिसकेपछि त्यो समस्याबाट पनि मुक्ति मिल्नेछ । घरमा हावाबाट निस्कने बिजुली जडान गरौँला । हावाबाट निस्किएको बिजुली बत्तिले २४ सै घण्टा घर झिलिमिली हुनेछ ।

प्यारी, आज अफिस हिँड्दा बाटोभरि देखीएका प्रेमजोडीहरुले तिम्रै याल दिलाइरहे । भ्यालेन्टाइन भएर पनि भ्यालेन्टाइन डे मनाउन नपाउँदाको पिडाले भत्भती पोलीरहेको छ छाती । कहिले तिमीलाई भेटुँला र मनलाई शितल बनाउन पाउँला जस्तो भइरहेको छ । तिम्रो केश र औँलाहरुलाई स्पर्श गर्दै तिम्रो मुस्कानमा हराउन मन छ मलाई ।
तिमी भन्छ्यौ नि माइक्रोबसमा कोचिएर यात्रा गर्न गाह्रो भो भनेर । अब त तिमी र म यो शहर सँगसँगै घुम्नुपर्छ, यहाँ गुड्ने मेट्रो रेलमा चढेर । तिम्रो शिरको सिरानी बन्न आँतुर छन् मेरा काँधहरु । तिमीलाई आलिङ्गनमा बाँधेर संसार घुम्ने रहर जागेको छ । 

प्यारी, धेरै दिन भो यो शहरका क्याफेहरुमा बसेर मैले पिउने कफिमा तिम्रो अभाव खड्कीएको । कफिका चुस्कीहरुले तिम्रो साथ खोजीरहेका छन् । तिमी काठमाडौँ फिरेपछि हामीले यो भ्यालेन्टाइन डे को पूर्ती गर्नुपर्छ । एक साँझ कफिको चुस्कीसँगै प्रेमील समय बिताउन पर्छ । म तिम्रो प्रतिक्षामा छु ।
तिमीलाई भ्यालेन्टाइन डे को धेरै शुभकामना !

उही,
तिम्रो प्रियतम

मुक्तक




               आकाशको तारा टिप्न खोज्छौ त कहाँ हुन्छ
                फाटेको धर्ती लिप्न खोज्छौ त कहाँ हुन्छ
                म भन्दै थिएँ नि ठुला सपना नदेख भनेर
                छाती चिरेर मुटु झिक्न खोज्छौ त कहाँ हुन्छ 

                                               ****