~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


गजल ३ :


डढेलोले वन जल्दैछ, यता मेरो मन जल्दैछ
उता वन्यजन्तु ढल्छन्, यता आशा सपना ढल्दैछ

तापक्रम बढ्दा सँगसँगै, हिमालका हिँउ हराए
कठ्याङ्ग्रिने जाडो कतै, कतै गर्मीको आगो बल्दैछ

गैँडा गुहार्छ बाघ गुहार्छ, कस्तुरीले गुहार्दैछ
उता वनमा गोली चल्छ, यता तेज धड्कन चल्दैछ

वन मास्दैछ बन्चरोले, पहिरिँदैछ जताततै
उता उर्वर माटो गल्छन्, यता मिठो भविष्य गल्दैछ

गजल २ :


खोजेँ उनलाई साँझपख निस्कीएर बार्दलीमा
बस्ने आशमा उनीसँगै जिस्कीएर बार्दलीमा

उनको घरको बार्दलीमा हेरें उनी छिन् की भनी
जून हेर्दै बस्यारैछिन् ठुस्कीएर बार्दलीमा

के भएछ घरमा आज ठुस्कीरहिन् धेरैबेरै
बोलाऊँ लाग्यो मिठा गफ पस्किएर बार्दलीमा

कसरी पो निस्क्यो उनको नाम फुत्त मुखबाट
फर्किइन् यता केश फिजाऊँदै झस्कीएर बार्दलीमा

आँखा आँखा बोल्न थाले ओठ ओठ खुल्न थाले
अनी बसेँ उनीसँगै मस्कीएर बार्दलीमा

मुक्तक ३

भन्छौ भने तिम्ले सारा सहर छोड्दिन्छु
आलिङ्गनमा बाधिँने ती प्रहर छोड्दिन्छु
आफ्नो आँखा अघि मलाइ देख्नै मन छैन भने
इसारा देऊ तिम्रो सारा सहर छोड्दिन्छु

मुक्तक २


छाडी अध्याँरो उज्यालो पाटो समाउँछु
सधैँ सधैँ राष्ट्रियताको बाटो समाउँछु
यही धर्तीले जन्माएर हुर्काइदियो मलाइ
ढल्ने बेला यही नेपाली माटो समाउँछु

गजल १ :


कस्तो भयो नेपाल रुखका हाँगा सुक्न थाल्यो
बलियो भन्ने हतौडाको बिँड फुट्न थाल्यो

हिजोसम्म संसारलाई न्यानो बनाई राख्छु भन्थ्यो
तर आज मौसमसँग सुर्य झुक्न थाल्यो

चट्टान फोर्ने हिम्मत राख्न्ने गर्थ्यो हलो पनि
खिया लाग्यो फाली पनि अब चुक्न थाल्यो

समाजलाई अमृतसरह दुधपान गराई हिड्ने
थाकेछ त्यो गाईको पनि खुट्टा दुख्न थाल्यो

घिन्ताङ् घिन्ताङ् आवाजमा जनतालाई सचेत पार्ने
के भएछ मादलको नि खरी टुट्न थाल्यो

मुक्तक १

कस्तो कस्तो अकल्पनीय नाता हुन्छ प्रेममा
भित्र फोहोर बाहीर सुन्दर गाता हुन्छ प्रेममा
दिन हप्ता महिना वर्ष बर्बात गर्नु मात्र न हो
फाइदा होइन उल्टो धेरै घाटा हुन्छ प्रेममा